शेखर कोइराला भन्छन् : सभापति देउवासँग मिल्यो भन्छन्, केमा मिलेको मैले बुझेको छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग नजिकिएको भन्ने सन्दर्भ उठाएर यसबारे प्रष्टीकरण दिएका छन्।

१४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरे पनि संस्थापनइतर समूहको नेता हुन नसकेको आरोप कोइरालामाथि लाग्दै आएको छ।

साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा कोइरालाको भूमिकालाई लिएर पनि उनी देउवासँग नजिकिएको आकलन समूहभित्रबाटै भइरहेको छ।

महामन्त्री गगन थापामाथि केन्द्रीय समितिमा सभापति देउवा समूहले गरेको ‘घेराबन्दी’ मा शेखर ‘मौन’ बसिदिएको आरोप उक्त समूहभित्रैबाट आइरहेको थियो।

यसबारे शेखरले बिहीबार काठमाडौं प्रेस युनियनले गरेको पदस्थापना कार्यक्रममा मुख खोलेका छन्।

‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन,’ कोइरालाले भने, ‘सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ।’

उनले सभापतिले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेको समेत प्रष्टीकरण दिए।

‘सभापतिले बोलाउनुभयो भने जानुपर्‍यो,’ उनले भने, ‘नबोलाई म आउँदैछु भनेर म जाने गरेको छैन, जान्न पनि ! ’

सभापति देउवासँग केमा मिलेको हो खुलाइदिनसमेत उनले आग्रह गरेका थिए। ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ उनले गुनासो गरे।

गाली गर्ने स्वभाव आफूमा नभएको उनको भनाइ छ।

‘मलाई मेरो परिवारले केही संस्कार दिएको छ। गाली नगर, बरू गाली खाऊ, पचाऊ,’ उनले भने, ‘चित्त नबुझेका कुरा छन् भने बरू नबोल भनेका छन्।’

सभापति देउवासँग पहिले आफ्नो भेट हुने नगरेको पनि बताए। ‘पहिलेपहिले देउवासँग भेट गर्दैनथे, आजकल गर्छन् भन्ने कुरा पनि आएको छ। पहिले उहाँले बोलाउँदै बोलाउनुहुन्थेन त के भेट गर्नेरु,’ उनले प्रश्न गरे, ‘बोलाएपछि त भेट्न जानुपर्‍यो, उहाँ सभापति हो।’

संस्थापनइतर समूहमा फाटो ल्याउन यस्ता कुरा आइरहेको उनको आरोप छ।

‘केही फाटो ल्याउने ग्रुप हुन्छ, स्वभाविक हो,’ उनले भने, ‘हामीले महाधिवेशनमा ४० प्रतिशत मत पाएको हो। यसलाई कसरी ६०र७० प्रतिशत बनाउने भन्नेतिर पो सोच्नुपर्ने हो त।’ कसैलाई गाली गरेर भोट बढाउन नसकिने उनको भनाइ छ।

कोशीमा सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री बनेको विषयमा सभापति देउवालाई भेटेर गलत भइरहेको विषय आफूले राखेको उनले बताए।

‘तपाईंहरूले कोशीमा गलत काम गरिरहनुभएको छ। म ट्वीट गर्छु भनेर सभापतिलाई जानकारी दिएरै मैले ट्वीट गरेको थिएँ,’ उनले भने, ‘कसैलाई चित्त बुझ्ला, नबुझ्ला गलत त गलत नै हुन्छ।’