जुवा खेलिरहेको अवस्थामा साढे २ लाख नगदसहित ५ जना जुवाडे पक्राउ

काठमाडौं । मकवानपुरको होटलबाट पाँचजना जुवाडे पक्राउ परेका छ्न् । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका- २ स्थित चर्चित एभोकाडो होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

बिहीबार साँझ होटलको कोठा नम्बर २०८ मा जुवा खेली-खेलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले छापा हानेको थियो ।

पक्राउ पर्नेहरूमा हेटौंडा-१ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, हेटौंडा-१२ बस्ने ३५ वर्षीय दीपक घले, चितवन भरतपुर महानगर-२ घर भई हाल हेटौंडा-४ बस्ने ४५ वर्षीय सुन्दरकुमार श्रेष्ठ, हेटौंडा-५ बस्ने ३४ वर्षीय सहदेव लम्साल र हेटौंडा-४ का ४२ वर्षीय प्रकाश मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट दुई लाख ५४ हजार ४२० रुपैयाँ, २ बुक सिल भएको तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरिएको छ । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।