सामाखुशीमा १३ वर्षीय बालक बगेको खोलामाथि राखिएका स्ल्याब महानगरले हटाउन थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलाको स्ल्याब हटाउन थालेको छ। काठमाडौं महानगरपालिका-३ भएर बहने उक्त खोलामाथिको स्ल्याब हटाउन थालिएको हो।

३ नम्बर वडामा असारबाट नै स्ल्याब हटाउन सुरू भएकोमा तीन दिनअघि रानीबारी क्षेत्रमा हटाउन थालिएको वडाध्यक्ष प्रेम थापाले जानकारी दिए।

अहिले रानीबारी चोकदेखि रेडन कलेज क्षेत्रको स्ल्याब हटाउन काम भइरहेको छ। ती क्षेत्रमा स्ल्याब हटाएर खोलालाई पुरानै स्वरूपमा ल्याउन लागिएको छ। खोला मिचेर बनाइएका घरहरू पनि भत्काइने वडाध्यक्ष थापाले बताए।

‘उहाँहरूले ०६५ अघिको मापदण्ड अनुसार बनाउनुभएको रहेछ, ती घरहरूलाई हटाएर ४ मिटर, ६ मिटर र ८ मिटरको मापदण्ड कार्यान्वयन गर्ने र साइड साइडमा वृक्षारोपण गर्ने तयारी पनि छ,’ उनले भने।

वडा नम्बर ३ मा त्यस्ता २० घर रहेको उनले बताए। ‘उहाँहरूले अदालतबाट स्टे अर्डर पनि ल्याउनुभएको रहेछ, क्षतिपूर्ति र मुहाब्जा पाएको अवस्थामा छोड्न तयार हुनुहुन्छ,’ उनले भने। त्यसबारेमा छलफल भइरहेको उनले बताए।

यही खोलामा साउन ७ गते १३ वर्षीय बालक साजन मगर खसेका थिए। अरू ठाउँमा स्ल्याब राखिएको भए पनि एक ठाउँमा खुला भएकाले त्यसमा खसेका हुन्।

खोला पुरानै स्वरूमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने वडाध्यक्ष थापाले बताए।

खोलामा त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल, मनमोहन अस्पताल, प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, राष्ट्रपतिको कार्यालय लगायतका सबै निकायको ढल मिसिने भएकाले अति नै दुर्गन्धित हुन्छ।

अब ती ढल खोलामा नमिसाउन नदिने र ढलका लागि महानगरले छुट्टै व्यवस्था गर्ने वडाध्यक्ष थापाले बताए।