जुवा खालमा प्रहरीको अप्रेसन, २२ जुवाडे पक्राउ

काठमाडौं । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ ।

बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साँढे ४ लाख रुपैयाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले बतायो।

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेका बताए ।