विदेशबाट नेपाल फर्कदा नेपालीले कति सून ल्याउन पाउँछन् , विमानस्थल भन्सार कार्यालयले जारी गर्यो यस्तो सूचना ? 

काठमाडौं । त्रिभुवन भन्सार कार्यालयले कति सुन ल्याउन पाउने र कति नपाउने भन्दै सूचना जारी गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम सम्मको सुनमा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकमा २५ ग्रामसम्मको भन्सार लाग्दैन ।

एक जना व्यक्तिले थप २०० ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउँछन् । यस्तै, गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा अ‍ौठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

यता मोबाइलको हकमा आफुले प्रयोग गरिरहेको ल्याउँदा भन्सार लाग्दैन भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेका यात्रुले आफ्नो साथमा थप एक थान मोवाइल भन्सार नतिरी ल्याउन पाउँछन् ।

यस्तै, टेलिभिजनको हकमा श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन । यदि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको अवस्थामा भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउँछ ।