सामाखुसी खोलामाथिको स्ल्याब हटाई डोजर लगाएर खोला सफा गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथि राखेको स्ल्याब हटाएपछि खोला सफा गर्न सुरु गरेको छ । महानगरले खोलामाथि राखिएको सबै स्ल्याबहरु हटाएर खोला सफा गरिरहेको हो ।

बसन्धुरा चोकदेखि म्पैहीहुँदै विष्णुमतिसम्म राखिएको स्ल्याब हटाएर खोला सफा गर्न थालेको महानगर नगरप्रहरी निरीक्षक शिव दाहाले बताए । खोलामाथिको स्ल्याब उप्काएपछि बाँकी रहेको रडहरु निकाल्ने र खोलामा भएको फोहोरहरु निकाल्ने काम भइरहेको छ ।

अहिले रेडन कलेजअगाडि डोजरले खोला सफा गरिरहेको छ । महानगरले गत असारदेखि सामाखुसी खोला खुला गर्न सुरु गरेको हो । स्थानीयहरुले खोलामाथि स्ल्याब राखेर खोला छोपेका थिए । खोलामाथि स्ल्याब हटाएपछि खोला वारीपारी रेलिङ लगाउने देखि खोलाको मापदण्ड मिचेर घर बनाउने घरहरु समेत भत्काएर सडक बनाउने भएको छ ।