सुन तस्करी प्रकरणमा अनुसन्धान फाइल राजश्वले प्रहरीलाई बुझाउने

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्न फाइल प्रहरीलाई बुझाउने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन २ गते करिब एक सय किलो सुन बरामद भएको थियो।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय भएको जानकारी दिए।

यो संगठित अपराध हो। अहिलेसम्म पक्राउ परेका व्यक्तिहरूलाई पनि प्रहरीलाई बुझाउँदैछौं,’ आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले भने।

सुन प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको छ। तीमध्ये एक जना छुटिसकेका छन्। बाँकी १७ आरोपीलाई प्रहरीको जिम्मा लगाउन लागिएको हो।

‘अनुसन्धान पेचिलो बन्दै गएको छ,’ उनले भने।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरण छानबिन गर्न सिआइबीलाई दिन पनि निर्देशन दिएका थिए।