पहिरोले घर बगाउँदा एकै परिवारका ५ सहित ६ जना बेपत्ता, एक महिला मृत फेला

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका-५ भोर्लेनीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनासहित ६ जना बेपत्ता भएका छन्। त्यही परिवारकी एक महिला मृत फेला परेकी छन्।

भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् भने उनकी श्रीमती शन्तमाया ब्लोन मृत अवस्थामा भेटिएकी हुन्।

स्थानीय जानसागर ब्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमती नदीमा बगेका थिए।

बेपत्ता हुने ६ जनामध्ये ५ जना एकै परिवारका रहेको र एकजना सिन्धुलीको हरिहरपुगढी गाँउपालिकाबाट पाहुना आएका थिए।

उनी पनि पहिरोमा परेर बेपत्ता भएको स्थानीय ब्लोनले बताए।

बेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

घरमा अक्कलबहादुर, उनका श्रीमती, छोरी, ज्वाइँ, २ बच्चा र एकजना पाहुना थिए।