पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

फाईल तस्बिर

काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान साढे ९ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि ५ सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो ।

दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

यो सडकखण्ड राजधानी काठमाडौं र पोखरा शहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।