पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं । अबिरल वर्षासँगैको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको बुलिङटार गाउँपालिका–१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिरोले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सञ्चालन हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

कालीगण्डकी करिडोरअन्तर्गत नै गैँडाकोट–३ तरङ्खोलामा पानीको बहाव बढ्दा यातायात सेवा सञ्चालन हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्रसहित यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनै पनि यातायात सञ्चालन हुनसकेका छैनन् ।

दलदले–बुलिङटार सडकखण्डसमेत पहिरोको कारण अवरुद्ध भएको छ । गए राति परेको अबिरल वर्षासँगै बुलिङटार–४ अर्खलामा खसेको पहिरोको कारण पूर्णरूपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।