बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ शुरु

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

आजबाट शुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । ‘गुँला पर्व’ विशेष गरी बौद्धमार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् ।

पर्वमा बौद्धमार्गी विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागी हुन पुग्नेका जेठुनारायण महर्जनले खेतीपाती सकेर मानिसहरू फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुसीयाली साट्ने पर्व रहेको बताए । उनले हरेक दिन अब एक महिनासम्म टोल टोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने बताए । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको बताए ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।