सिटीले जित्यो सुपर कपको उपाधि

काठमाडौं । स्पेनिस क्लब सेभिल्लालाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटीले सुपर कपको उपाधि जितेको छ।

सेभिल्लालाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सिटीले उपाधि उचाल्यो। खेलको २५औं मिनेटमा अकुनाको पासमा एन नासिरले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा सेभिल्लाले १–० को अग्रता बनायो। तर दोस्रो हाफको ६३औं मिनेटमा रोड्रीको पासमा पाल्मरले गोल गरेपछि खेल १–१ को स्थितिमा आएको थियो।

१–१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ सिटीले ५–४ गोलले सेभिल्लालाई हरायो।

सिटीका लागि पेनाल्टीमा हालाण्ड, अल्भारेज, कोभाकोभिच, ग्रिलिस र वाल्करले गोल गरे। सेभिल्लाका लागि ओकम्पास, राफा मिरा, राकिटिक, मोन्टेनिलले गोल गरे।

गुडेल्जले गरेको प्रहार क्रस बारमा लागेर फर्किएपछि सिटीले पेनाल्टी सुट आउटमा ५–४ को नतिजा निकाल्यो।

हरेक वर्ष च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच सुपर कप हुँदै आएको छ। गत सिजन सिटीले च्याम्पियन्स लिग र सेभिल्लाले युरोपा लिग जितेका थिए।