प्राधिकरणको दाबी : विद्युतको पहुँच ९८ प्रतिशत जनसङ्ख्यामा पुग्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ग्राहक सङ्ख्या ५१ लाख ३० हजार पुगेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्ममा जम्मा ४७ लाख ७० हजार रहेको ग्राहक सङ्ख्या पछिल्लो वर्ष ७.७६ प्रतिशतले बढेको सिइओ कुलमान घिसिङले जनाएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका सिइओ घिसिङले विद्युतको पहुँच ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको र अबको २ वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा पुग्ने दाबी गरे ।

घिसिङका अनुसार हाल सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहको सङ्ख्या ५६ लाख ४० हजार पुगेको छ ।

यसैगरी राष्ट्रिय ग्राीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेको जनाएको प्राधिकरणले आगामी २ वर्षभित्र सम्पूर्ण जनतालाई विद्युतको पहुँचमा पुर्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको जनाएको छ ।

तर, यता समीक्षा अवधिमा यता जलविद्युतको उत्पादन भने १०.१० प्रतिशतले गिरावट आई २ अर्ब ९३ करोड युनिट मात्र विद्युत् उत्पादन भएको प्राधिकरणको भनाइ छ ।