नेकपा स्थायी कमिटी बैठक शुक्रबार बस्ने

काठमाडौँ । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुक्रबारका लागि डाकिएको छ। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान भएको छलफलमा शुक्रबारका लागि स्थायी कमिटी बैठक डाक्ने सहमति भएको हो।

असार १० गते सुरु भएपछि मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको स्थायी कमिटी बैठक लामो छलफलपछि शुक्रबारका लागि बोलाइएको छ। स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो । बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको जानकारी दिए। साउन ३० मा दुई अध्यक्षबीच भएको छलफलमा पार्टी विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो।

कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमाथि भदौ १८ मा बसेको सचिवालय बैठकमा छलफल भएको छ। प्रतिवेदन स्थायी कमिटीको बैठकमा पेस गर्ने तयारी नेकपाको छ।