डिजेल बोकेको ट्याङ्कर थानकोट मोडमा अचानक पल्टिएपछि……

काठमाडौँ । काठमाडौं चन्द्रागिरी ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ट्याक्टर दुर्घटना भएको छ ।

रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटोमा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।

ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल (२० हजार लिटर) डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । ‘अचानक ड्याम्म आवाज आयो, के भएको रहिछ भनेर घरबाट हेर्दा डिजेल ट्यांकर उतानो परेछ,’ एक स्थानीयले भने ।

उक्त ट्याङ्करका चालक सुरेश बिक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए । सो दुर्घटनामा ट्यांकरका पाँच च्याम्बरमध्ये दुई च्याम्बरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भए पनि आग लागी भएर हुनसक्ने ठुलो दुर्घटना भने टरेको स्थानीयको भनाई
छ ।