समीक्षा अधिकारीले भनिन्- मैले यो भन्दा ठूला प्राहारहरू खेपिसकेकी छु, ‘प्लिज’ मलाई नगिजोल्नुस्

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरूमा आफूविरुद्ध प्रहार भइरहेको भन्दै गायिका समीक्षा अधिकारीले आफूमाथि थप प्रहार नगर्न आग्रह गरेकी छन् ।

उनलाई अस्ट्रेलियाले भिसा नदिएको र ुब्ल्याक लिस्टुमा राखेको भन्दै सामाजिक सञ्जालहरूमा प्रतिक्रिया आउन थालेपछि अधिकारीले आफूलाई थप पीडा नदिन आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जालहरूमा आएका कुराहरूमा सत्यता नरहेको पनि उल्लेख गरेकी छन् ।

‘आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफैँ आश्चर्यचकित भएकी छु,’समीक्षाले फेसबुकमा लेखेकी छन्, ‘मैले योभन्दा ठूला प्राहारहरू खेपिसकेकी छु । तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान् दाजुभाइ दिदीबहिनीहरूलाई सोध्न चाहन्छु– यहाँनिर मेरो गल्ती के भयो र ?

उनले अलिकति पनि कुरा नबुझी आफूमाथि प्रहार भइरहेको गुनासो गरेकी छन् । ‘अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेकी छु । भएको यत्ति हो,’अधिकारीले स्पष्टीकरण दिएकी छन् ।

उनले आफ्नो बदनाम गराउन किन खोजेको हो भनेर प्रश्नसमेत गरेकी छन् । ‘म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडि बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्यत् हुनुहुन्छ ?,’अधिकारीले लेखेकी छन्, ‘मैले भोग्नपर्ने भोगिसकेँ, सहनुपर्ने सहिसकेँ । प्लिज, मलाई नगिजोल्नुस् ।’

उनले आफूलाई तनाव नदिन पनि आग्रह गरेकी छन् । ‘प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनुस् । सक्नुहुन्छ दुईवटा मीठा शब्द बोलिदिनुस्, जसले मनोबल बढाओस्, सक्नुहुन्न मलाई मानसिक तनाव नदिनुस् ।’