त्रिभुवन विमानस्थलबाट अवैध रकमसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित एकजना फिलिपिन्सका नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । ती युवाबाट एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपाली रूपैयाँ बिहीबार साँझ बरामद भएको छ ।

फ्लाई दुबईको उडानबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको हो । युवकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

-रासस