बसभित्र पाकेटमारी गरिएको २५ हजारसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा सोमबार सार्वजनिक बसका यात्रुबाट पाकेटमारी गरिएको रकमसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

भक्तपुर–कलंकी चल्ने बा ३ ख २४४४ नम्बरको बस बल्खु आइपुग्दा दुई यात्रुको २५ हजार रुपैयाँ गायब भएपछि प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित ५ जना पक्राउ परेका हुन्।

उक्त बसमा यात्रारत रौतहट घर भई हाल काठमाडौंको जडीबुटीमा डेरा गरी बस्ने ३५ वर्षीय इनरजित शाहको १५ हजार र सोही ठाउँमा डेरा गरी बस्ने २५ वर्षीय शिव पुजन शाहको १० हजार रुपैयाँ पाकेटमारी गरिएको हो।

घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चोरिएको रकमसहित ५ जनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।