म आजको मितिसम्म कहीँ, कतै चुकेको छैन र भोलिका दिन पनि चुक्दिन : कानुनमन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने बताए ।

सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याउने क्रममा बिचौलिया हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदलाई मन्त्री गुरुङले आग्रह गरेका हुन् ।

‘विचौलियो हाबी भएर विधेयक आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो,’उनले भने ।

मन्त्री गुरुङले सधै राजनीतिमा नै रहनुपर्छ भन्ने केही नभएको बताए । उनले आफू विचौलियाको प्रभावमा परेर विधेयक ल्याएको भन्ने कुरा अस्वीकार गरे ।

‘निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो । सधैँ मन्त्री भइन्छ भन्ने होइन । सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन । विचौलियाकै विरुद्ध लडेर यहाँसम्म आएको छु । सामन्तवादकै विरुद्धमा लडेर यहाँसम्म आएको छु,’ उनले भने, ‘आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा विचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि ? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ । म खुला पाना हुँ, पढे हुन्छ ।’