तीजमा तडकभडक सहितका खर्चिला कार्यक्रम नगर्न प्रशासनको अनुरोध

काठमाडौं । तीजमा तडकभडकका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।

प्रशासनले मंगलबार सूचना जारी गर्दै तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

केही वर्षयता हरितालिका तीज मनाउने नाममा विभिन्न तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने र जसका कारण विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको सूचनामा उल्लेख छ ।

प्रशासनले पूर्वस्वीकृति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्नसमेत आग्रह गरेको छ ।

कसैले सूचनाविपरीत गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही हुने कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।