आजबाट सुरु हुने एसिया कप क्रिकेटका बारेमा के भन्छन् त पाकिस्तान र नेपालका कप्तान ?

काठमाडौं । एसिया कप क्रिकेट २०२३ आज (बुधवार) देखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नवप्रवेशी नेपालले बलियो पाकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ ।

खेल पाकिस्तानको पञ्जाबस्थित मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजेबाट शुरू हुनेछ ।

पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एसिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर शहिन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत खेलाडी छन् ।

यता, रोहित पौडेलको कप्तानीमा मैदान उत्रिने नेपाल पनि बलियो पाकिस्तानलाई स्तब्ध बनाउन चाहन्छ । नेपालसँग पनि सन्दीप लामिछानेजस्ता ग्लोबल स्टार छन् । विश्वका अधिकांश क्रिकेट पण्डितहरूले उदाउँदो नेपाललाई कम नआँक्न पाकिस्तानलाई सजग गराइरहेका छन् ।

कप्तान पौडेलले एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने बताएका छन् । एसिया कपको उद्घाटन खेलको पूर्वसन्ध्यामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले प्रतियोगितामा पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने बताएका हुन् । ‘एसिया कप नेपालका लागि ठूलो उपलब्धि हो । पाकिस्तान ठूलो टिम हो,’ उनले भने,’ तर पाकिस्तानविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ । हामी लायक छौं, त्यही भएर एसिया कपमा छौं ।’

यस्तै पाकिस्तानका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहजरूपमा नलिएको बताएका छन् । एसिया कपको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आजमले क्रिकेटमा कुनै पनि टिम कमजोर नहुने बताए । ‘क्रिकेटमा कुनै पनि टिमलाई सहज रूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहज रूपमा लिनुहुँदैन भन्ने मैले सिकेको छु,’ उनले भने, ‘विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्छ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ । पहिलो खेल हो र हाम्रो लागि महत्त्वपूर्ण पनि छ । त्यसकारण हामी राम्रो सुरुआत गर्न चाहन्छौँ ।’