नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबरको अर्धशतक

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट तेस्रो क्रममा आएका बाबरले ७२ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो २९औँ अर्धशतक हो ।

जारी खेलको २८.२ ओभर समाप्त हुँदा पाकिस्तानले चार विकेट गुमाएर १२८ रन बनाएको छ । पाकिस्तानका लागि बाबरले ५० रन जोड्दा क्रिजमा रहेका इफ्खिर अहमेदले दुई रन बनाएका छन् ।

कुनै समय २५–२ को कठिन अवस्थामा रहँदा बाबरले मोहम्मद रिजवानसँग ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । रिजवान ४४ रनमा आउट भएका थिए ।