दुई थान पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो।

माझीको साथबाट दुई थान कटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको उनले बताए।

यसैबीच भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ।