महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा सम्लग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिनका लागी अदालतले पाँच दिन म्याद थप गर्न आदेश दिएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।

‘अपराह्न अदालत ल्याइएको थियो, उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ,’ उनले भने।

नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा अनुसन्धान हुने केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

बुधबार नै राहुल आफैंले सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए।

‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ उनले लेखेका थिए।

विमानस्थलबाट बरामद भएको इलेक्ट्रोनिक भेपमा सुन भेटिएपछि त्यसका प्रमुख गिरोहसँग राहुलको लगातार सम्पर्क भएको देखिए पनि मुद्दा भने चलाइएको थिएन। यसमा उनका बुवा कृष्णबहादुर महरामाथि समेत अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ।