सरकारले जतिसुकै राम्रो काम गरे पनि विरोधीहरुले राम्रो गर्‍यो भन्न सकिरहेका छैनन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गरे पनि विरोधीले राम्रो गर्‍यो भन्न नसकेको बताएका छन्।

सरकारका राम्रा कामको चर्चा समाजवादी मोर्चाले गर्न थालेको उनको भनाइ छ।

पोखरामा शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकारले जतिसुकै राम्रो काम गरे पनि विरोधीले राम्रो गर्‍यो भन्न सक्दैन, कसैले पनि सरकारका राम्रा कामको चर्चा नगरे पनि समाजवादी मोर्चा बनाएपछि राम्रा कामको चर्चा हुन थालेको छ।’

उनले देशमा सुशासनको अभियान नै सञ्चालन गरिएको बताएका थिए। ‘राम्रो काम गरे पनि विरोधीले विरोध गरे,’ उनको गुनासो छ।

‘कमरेडहरू, सरकारले गरेका राम्रा कुरा कसले भनिदिन्छ भन्ने थियो मलाई। समाजवादी मोर्चा बनाएपछि हामी सबैले भन्न थालेका छौं,’ उनले भने।

प्रधानमन्त्री दाहालभन्दा अगाडि बोलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए।

भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा अनेक जालझेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

भारत भ्रमणका बेला राम्रा काम भए पनि संसदमा केहीले बोल्नसमेत नदिएको उनको भनाइ थियो।

‘भारत भ्रमणमा त्यत्रा ठूला काम भयो, सदनमा हेर्नुभयो भने एकथरी सयाथीहरु बोल्नै नदिने, मैले यो गरेर आएको छु भन्नै नदिने,’ उनले भने, ‘जनताको बीचमा लैजाने जिम्मा तपाईंहरुको हो।’

भारतबाट ल्याएको मुर्रा भैंसीमा भ्रमणलाई संकुचित गरेर बदनाम गराउने प्रयास भएको उनले बताए। नेपालमा मुर्रा भैंसी ल्याउन २०७२ सालदेखि प्रयास भए पनि अरु कसैले नसकेको र आफ्नो सम्बन्ध राम्रो भएकाले ल्याउन सफल भएको दाबी प्रधानमन्त्री दाहालको थियो।