विद्यालयबाट फर्किदै गरेका दाजु–बहिनीको खोलाले बगाएर मृत्यु

काठमाडौं । रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न खोलाले बगाएको हो। रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए।

‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो। स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने, ‘दाजुबहिनी नै सोझा थिए। खहरेमा भेल आउँछ भन्ने हेक्का नै भएन। बगाएछ। उनीहरूको शव हिजै फेला परिसकेको छ।’

हावाहुरीले चौरजहारी नगरपालिकाका अधिकांश वडामा क्षति पुर्‍याएको उनले बताए। घरका छाना उडाउनुका साथै भित्र्याउने बेला भएको मकै, तिल आदि बालीमा पनि व्यापक क्षति पुर्‍याएको थियो।

हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए।

विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए।

‘त्यो त सानो खहरे हो। नाउला खोला भन्छन्। मानिस बगाउने गरी बाढी आएको थाहा छैन। तर, हिजो ठूलै नै पानी परेकाले उनीहरू भेलमा परेछन्,’ वडा सदस्य विरेन्द्रले भने।

झन्डै डेढ घन्टा हावाहुरीसहित पानी परेको उनले बताए।

‘खोलाले बगाएको थाहा पाउनासाथ हामीले खोजी गर्‍यौं। हिजै शव फेला पारेर पोस्टमार्टम गर्न जिल्ला अस्पताल पठाइसकिएको छ,’ वडा सदस्य विरेन्द्रले भने।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले नगरपालिकाले किरिया खर्चको प्रबन्ध गर्न लागेको प्रमुख पुष्प बादीले बताए।

‘पोष्टमार्टम गर्न जिल्ला अस्पताल लैजान पनि उहाँहरूसँग खर्च रहेन छ१ नगरपालिकाले नै गाडीको बन्दोवस्त गरिदिएको हो,’ उनले भने, ‘काजकिरिया खर्च उपलब्ध गराउने तयारी गरेका छौं।’

चौरजहारी क्षेत्रमा पछिल्लो २४ घन्टामा ४४।६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।