बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबारमा आगो लगाइदिने’ स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् ।

उनले सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको छ । उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनका उक्त धारणापछि उनको चर्को आलोचना भएको थियो । उनकी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए ।