नेपाल र भारतबीच खेल हेर्न पल्लेकेले मैदानमा नेपाली दर्शक (तस्वीरहरू)

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा नेपाली दर्शकको पनि ठूलो उपस्थिति छ । एसियन क्रिकेट काउन्सिलले नेपाली दर्शकका केही तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।

खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुलसन झाका रुपमा छैटौँ विकेट गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए । उनी मोहम्मद सिराजको बलमा विकेटपिकर इसान किसानबाट सामातिएका हुन् ।

यसअघि भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ८८ बलमा अर्धशतक बनाएका हुन् । पाँचौँ विकेटका रुपमा उनी ५८ रन बनाएर आउट भए । उनको विकेट मोहम्मद सिराजले लिए ।

नेपालले राम्रो सुरुवात गरेको नेपालको मध्यक्रम लड्खडाएको छ । ६५ को स्कोरमा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले त्यसपछि निरन्तर विकेट गुमाइरहेको छ ।

कप्तान रोहित पौडेल ५, भीम सार्की र कुशल मल्ल २ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले तीन विकेट लिइसकेका छन् । सार्दुल ठाकुरले एक विकेट लिएका छन् । खेलमा नेपालका दुवै ओपनरले तीनपटक जीवनदान पाएका थिए । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । यो समाचार तयार पार्दासम्म ३६ ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाइसकेको छ ।