एशिया कप : ‘सुपर फोर’को पहिलो खेलमा पाकिस्तान र बाङ्लादेश भिड्ने

काठमाडौं । सुपर फोरको पहिलो खेलमा पाकिस्तान र बाङ्लादेश भिड्ने भएका छन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट शुरू हुनेछ। पाकिस्तानको लाहोरमा अवस्थित गद्दाफी स्टेडियममा खेल हुनेछ।

पाकिस्तान अहिले एकदिवसीय क्रिकेटको विश्व वरीयतामा शीर्ष स्थानमा छ। बाङ्लादेश भने सातौं स्थानमा छ। खेलाडीको हकमा भने पाकिस्तानका बाबर आजम ब्याटिङतर्फ एकदिवसीयमा शीर्ष स्थानमा हुँदा अलराउन्डरतर्फ बाङ्लादेशी कप्तान शाकिब अल हसन शीर्ष स्थानमा छन्।

आजको खेलका लागि पाकिस्तानले आफ्नो प्लेइङ-११ पनि सार्वजनिक गरिसकेको छ। बाबर आजमको कप्तानीमा मैदानमा उत्रने पाकिस्तानी टोलीमा यस पटक यसअघिका दुई खेलमा देखिएका मोहम्मद नवाज हुने छैनन्। उनको स्थानमा फहीम अस्रफ देखापर्ने छन्।

अन्य खेलाडीमा शादाब खान, फखार जमान, इमाम उल हक, सलमान अली अघा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, नसीम शाह, शाहीनशाह अफ्रिदी र हरीश रउफ रहेका छन्।

पाकिस्तान, भारत, बाङ्लादेश र श्रीलंकाले एशिया कपमा शीर्ष चारमा आफ्नो स्थान बनाएका छन्। श्रीलंकाले गए राति अफगानिस्तानलाई दुई रनले पराजित गर्दै शीर्ष चारमा स्थान बनाएको थियो।