बागमतीमा संसदीय समितिको बैठक नौ महिनापछि

काठमाडौं । बागमती प्रदेश सभाको संसदीय समितिको बैठक नौ महिनापछि मंगलबार बसेको छ । प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिको बैठक पहिलोपटक बसेको हो । प्रदेश सभा सचिवालयका अनुसार समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा बैठक बसेको हो । प्रदेश सभामा संसदीय समितिका सभापतिहरूको चयन गर्न बाँकी छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पुस ०७९ मा बसेको थियो ।

प्रदेश मामिला समिति, सार्वजनिक लेखासमिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक बसेको प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेश मामिला समितिको सभापतित्व कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिको सभापतित्व माओवादीका रामप्रसाद ढुंगाना र सार्वजनिक लेखा समितिको सभापतित्व माओवादीकै ठाकुरप्रसाद ढकालले गरेका थिए ।

शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतित्व कांग्रेसकी मीनाकुमारी पराजुली पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतित्व कांग्रेसकै याङकिला शेर्पाले गरेकी थिइन् । सत्तारूढ दलबीच समितिको सभापतिको विषयमा भागबन्डा मिल्न नसक्दा अहिलेसम्म समितिले सभापति पाउन सकेका छैनन् । असारमा संसदीय समिति गठन तथा सदस्यहरूको भने टुंगो लागेको थियो ।

मंगलबार बसेका समितिको बैठकले सम्बन्धित समितिको बैठक तथा काम कारबाही सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेका छन् । समितिलाई आवश्यक कार्यविधि निर्माणका लागि उपसमितिसमेत गठन गरिएको छ । पाँच सदस्यीय उपसमितिले निर्माण गरेको कार्यविधिलाई संसदीय समितिको अर्को बैठकमा पेस गरेर पारित गरिने प्रवक्ता गुप्ताले बताए ।

प्रदेश सभाका पाँच समितिका लागि कुल ९६ सदस्यहरूलाई सबै दलको समान रूपमा प्रतिनिधित्व हुने गरी पठाएअनुसार चारवटा समितिमा १९ जनाका दरले सदस्य रहने छन् भने एक समितिमा २० सदस्य छन् ।