साउदी अरब र ईरानले पहिलोपटक एकअर्काको देशमा पठाए राजदूत

काठमाडौं । ईरान र साउदी अरबलेले कूटनैतिक सम्बन्ध पुनर्स्थापना भएपछि पहिलोपटक एकअर्काको देशमा राजदूत पठाएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिँदै साउदी राजदूत अब्दुल्लाह बिन सऊद अल–अंजी तेहरान पुगेको बताएको हो ।

यसअघि ईरानका राजदूत अलीरेजा एनायाती रियाद पुगेका थिए । यहाँ साउदी अरब विदेश मन्त्रालयका अधिकारीहरूले उनको स्वागत गरेका थिए ।

यसै वर्षको मार्चमा चीनका मध्यस्थतामा ईरान र साउदी अरब सन् २०१६ देखि टुटेको कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्न सहमत भएका थिए । सन् २०१६ मा साउदी अरबमा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि ईरानी प्रदर्शनकारी साउदी अरबको दूतावासमा घुसेका थिए । त्यस घटनापछि दुई देशको कूटनीतिक सम्बन्ध टुटेको थियो ।

ईरानले आधिकारिकरुपमा जुन महिनामा साउदी अरबमा आफ्नो दूतावास पुनः खोलेको थियो । त्यसपछि जेद्दाहमा ईरानले आफ्नो वाणिज्य दूतावास खुला गरेको थियो ।