सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले बाराका शिवकुमार सफरलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए।

पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए।

यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो।

त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।