चीनका सरकारी कार्यालयमा ‘आईफोन प्रतिबन्ध’ लगाएको समाचार सार्वजनिक भएसँगै एप्पलको सेयरमा भारी गिरावट

काठमाडौँ । चीनले सरकारी कार्यालयहरूमा आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै एप्पलको सेयरमा गिरावट आएको छ ।

चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार वाल स्ट्रिटले सार्वजनिक गरेसँगै लगातार दोस्रो दिन एप्पलको सेयरमा दोस्रो दिन पनि गिरावट आएको हो ।

पछिल्लो दुई दिनमा सेयर बजारमा ६ प्रतिशत अर्थात २०० बिलियन डलरबराबरले सेयर मूल्यमा गिरावट आएको बीबीसीले जनाएको छ । एप्पलका लागि चीन विश्वकै तेस्रो ठूलो बजार मानिन्छ । गत वर्ष एप्पलले आफ्नो आम्दानीको १८ प्रतिशत हिस्सा चीनबाट मात्र प्राप्त गरेको थियो ।

वाल स्ट्रिट जर्नलले बुधबार चीनले केन्द्रीय सरकारी कार्यालयका अधिकारीहरूलाई कार्यालयमा आईफोन नल्याउन र कार्यालयको काममा आईफोन प्रयोग नगर्न निर्देशन दिएको रिपोर्ट प्रकाशित गरेको थियो । बिहीबार ब्लुमबर्गले पनि चीनले सरकारले चलाएका कम्पनी र सरकारसमर्थित एजेन्सीहरूका कर्मचारीलाई पनि आईफोन प्रयोग नगर्न निर्देशन दिएको आफ्नो समाचारमा जनाएको थियो ।

सेप्टेम्बर १२ मा आईफोन-१५ सार्वजनिक गर्ने तयारी भइरहेका बेला चीनले सरकारी कार्यालयमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएको हो । चीन सरकारले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।