जापानसँग चार गोलले हारेपछि जर्मनीका प्रशिक्षक फ्लिकलाई गरियो बर्खास्त

काठमाडौं । हान्सी फ्लिकलाई जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट बर्खास्त गरिएको छ। जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो।

युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा कम समय बाँकी रहेको अवस्थामा जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षक बर्खास्तमा परेका हुन्।

उनको बर्खास्तिपछि २००० देखि २००४ सम्म टोलीको व्यवस्थापन गरेका रुडी भोलरले मंगलबार फ्रान्ससँगको मैत्रीपूर्ण खेलको लागि अस्थायी जिम्मेवारी लिएका छन्।जर्मनीका पूर्व स्ट्राइकर ६३ वर्षीय भोलरलाई फेब्रुअरीमा जर्मन राष्ट्रिय टोलीको निर्देशक नियुक्त गरिएको थियो।

फ्लिकको प्रशिक्षणमा जर्मनीले आफ्ना पछिल्ला पाँच खेलमध्ये चार हारेको छ। गत वर्षको विश्वकपमा त जर्मनी समूह चरणबाटै बाहिरियो। उनका सहयोगी मार्कस सोर्ग र ड्यानी रोहल पनि बर्खास्त भएका छन् ।