अमेरिकामा सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको दिन ‘सेप्टेम्बर ११’, के भएको थियो त ?

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ अर्थात् २२ वर्षअगाडि आजकै दिन अमेरिकामा सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको थियो ।

त्यसबेला मङ्गलबारको दिन आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई अपहरण गरेर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काउँदा सयौँ मानिसहरूले ज्यान गुमाएका थिए ।

त्यसदिन अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । ती विमानहरूलाई नियन्त्रित मिसाइलको रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइए । दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

पहिलो विमान नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८ः४६ मिनेटमा ठोक्किएको थियो भने दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९ः०३ मिनेटमा ठोक्काइएको थियो । दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए ।

त्यसपछि ९ बजेर ३७ मिनेटमा अपहरणमा परेको तेस्रो विमान अमेरिकी सेनाको मुख्यालय पेन्टागनमा ठोक्काइएको थियो । यस आक्रमणमा पेन्टगनको पश्चिमी मोहडामा क्षति पुगेको थियो । एकाएक विमान अपहरणमा परेपछि यात्रुहरूले प्रतिरोध गरेका थिए । यात्रुहरूको प्रतिरोधपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा खुला मैदानमा दुर्घटनाग्रस्त भएको थियो । वास्तवमा अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेका थिए ।

सेप्टेम्बर ११ का दिन भएको यस आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना मानिन्छ । यी घटनाहरूमा १९ अपहरणकारीसँगै २ हजार ९७७ जनाले ज्यान गुमाएका थिए ।

बीबीसीका अनुसार आतंकवादी संगठन अल–कायदाले अफगानिस्तानबाट यो घातक आक्रमणको योजना बनाएको थियो । ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल–कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्‍याउने गर्थ्यो ।

चारवटा विमान अपहरण गर्ने १९ व्यक्तिहरूलाई चार समूहबाट विभाजन गरिएको थियो । प्रत्येक समूहमा विमानचालकको तालिम लिएका एक व्यक्ति थिए । अपहरणमा सामेल भएका पाइलटले अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा तालिम लिएका थिए ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई विश्वबाटै उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे ।

अमेरिकाका अनुसार अफगानिस्तानको तालिबान सरकारले अल–कायदाका प्रमुख ओसामा बिन लादेनलाई आश्रय दिएको थियो । त्यसबेला लादेन सुम्पन नमानेपछि अमेरिकाले लादेन खोज्न तालिबानमाथि आक्रमण थाल्दा तालिबानको सरकार अपगानिस्तानबाट अपदस्थ भएको थियो ।

झन्डै दुई दशकको अभियानपछि सन् २०२१ मा अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जाल अल–कायदाको पुनरागमन हुने चिन्ताहरू व्यक्त भएका छन् ।

त्यसबेला अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेन । तर सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिए । सेप्टेम्बर ११ को हमलाका अर्का आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मै पाकिस्तानमा पक्राउ गरिएको थियो । त्यसयता उनी अमेरिकी हिरासतमा छन् ।

आतंकवादी संगठन अल–कायदा अझै पनि अस्तित्वमा छ । सब–सहारा अफ्रिकामा उसको पकड बलियो छ र अहिले अफगानिस्तानभित्र पनि उसका सदस्य भएको बताइन्छ । बीबीसीहिन्दीको सहयोगमा