सरकार भन्छ : क्रिकेट खेलाडीलाई पुरस्कार दिने पैसा छैन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई दिने भनिएको पुरस्कार बापतको १७ लाख रुपैयाँ सरकारले अझै दिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै घोषणा गरेको पुरस्कार रकम समेत खेलाडीले पाएका छैनन् । पुरस्कारको रकम थपिँदै १७ लाख रुपैयाँ पुगिसक्यो । सरकारले भने पुरस्कार दिन पैसा नभएको बताएको छ ।

फेब्रुअरी र मार्चमा भएका आईसीसी वर्ल्ड कप लिग २ क्रिकेटका ३ वटा सिरिजको प्रति सिरिज ३ लाख रुपैयाँका दरले ९ लाख रुपैयाँ, प्रधानमन्त्रीले घोषणा गरेको थप २ लाख र नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कप क्रिकेटमा छनोट भएपछिको ६ लाख गरी कुल १७ लाख रुपैयाँ क्रिकेट खेलाडीले पाउन बाँकी छ ।

पुरस्कार रकम समयमै नपाउँदा उमेर समूहका खेलाडी निराश छन् । नाम नखुलाउने शर्तमा यू–१९ टिमका एक खेलाडीले भने, ‘विश्वकपमा छनोट भएर आउँदा नगद पुरस्कार पनि पाइने भयो भनेर सुन्दा खुसी भएका थियौं, खै आजसम्म पाइएन, अब त के पाइएला र ?’

पुरस्कार रकम नपाएकाले बेला बेलामा राष्ट्रिय टिमका खेलाडीले कप्तान रोहित पौडेललाई हाम्रो पुरस्कारको रकम खोई भनेर सोध्ने गरेका छन् । एसिया कप खेलेर फर्किएका सोमपाल कामीले भने, ‘हामीले त रोहितलाई पुरस्कारको पैसा खोई भन्छौं ।’

एसिया कपमा नेपालले भारतसँग खेल्ने दिन संसदमै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले खेलाडीले पुरस्कार रकम नपाएको कुरा उठाएका थिए ।

कार्यविधि बनाएरै तोकेको र प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार दिन पैसा नभएको सरकारले बताउने गरेको छ । खेलकुद मन्त्रालयका प्रवक्ता कुमारप्रसाद दाहालले बजेट नभएकै कारण खेलाडीलाई पुरस्कार दिन नसकेको बताए । ‘हामीसँग खेलाडीलाई पुरस्कार रकम वितरण गर्न पर्याप्त बजेट छैन’, उनले भने ।