श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर आज र भोलि पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ।

भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए। उनका अनुसार नेम्वाङको पार्थिव शरीर अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ।

‘आज र भोलि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिने छ। भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार हुन्छ,’ उनले भने।

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम-२ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको उनले बताए।

उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

सांसद बस्नेतका अनुसार नेम्वाङ शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए। आइतबार पनि दिनभर सिंहदरबारमै थिए।

सोमबारचाहिँ असहज महसुस भएको भन्दै घरमा बसेको उनले बताए।