सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन आज

काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म सञ्चालन हुने द्रुत बस सेवाको आज उद्घाटन हुँदैछ । यसरी सञ्चालन हुने बस ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्नेछन् ।

काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि सरकारले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गरेको हो ।

तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा आउने छन् ।

द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै लेनको व्यवस्था गरिएको छ । बसको आकार र रङ पनि अरुभन्दा फरक बनाइएको छ ।

अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने दाबी गरिएको छ ।

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । हालका लागि अरु सवारीसाधनमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।