कोशी प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएको बताएका छन्। संविधान दिवसको अवसरमा बुधबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताए।

आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावनाअनुसार काम हुन नसकेकाले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ। कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको उनले बताए।

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री,उपसभामुख, प्रदेश सांसद,उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थीलगायत सहभागी थिए।