कार्यकक्षमै छिरेर प्रधानाध्यापकलाई काट्ने धम्की दिने एक युवा पक्राउ

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका-१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हँसियाले काट्छु भन्दै धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको भदौ ३१ गते एक औपचारिक कार्यक्रममा प्रधानाध्यापक हिरादेवी भण्डारी र समिति अध्यक्ष उदय साउँदलाई काट्ने धम्की दिने २२ वर्षीय छवि साउँदलाई प्रहरीले पक्राउ गरेको हो ।

ती युवकले विद्यालयले शिक्षा दिवसको दिनमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागी भएको कार्यक्रममा छवि साउँदले समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग विवाद गरेका थिए ।

विवाद गरेर घर गएका युवकले केही समयपछि हँसिया लिएर आएका थिए । हँसियालिएरै प्रधानाध्यापकको कोठामा प्रवेश गरेका थिए ।

प्रधानाध्यापक हिरादेवी भण्डारीले ती युवकबाट हँसिया खोस्ने प्रयास गरेकी थिइन्। त्यस क्रममा युवकले भण्डारीमाथि हातपात समेत गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय बाबियाचौरले उनलाई मङ्गलवार नियन्त्रणमा लिएको थियो । बुधवार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।