बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको बताइएको छ। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो।