एसियाली खेलकुद : क्रिकेटमा माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।

आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए।

नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए।

विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। आजको खेलमा नेपालले जित निकाले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ।