१० लाख भारु सहित ३ जना पक्राउ

काठमाडौं । रुपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले १० लाख भारुसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठको कमान्डको टोलीले नेपालमा प्रतिबन्धित भारतीय नोटसहित ३ जना पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार गए राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँच का क्रममा उक्त अवैध १० लाख भारु बरामद गरेको हो।

सशस्त्र प्रहरीले तीन जना मध्ये एक जनाको साथबाट ९ लाख भारु र अन्य दुई जनाको साथबाट ५०/५० हजार बरामद गरेको हो। उनीहरुबाट बरामद गरिएको सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको नोटको नम्बर टिपोट जारी रहेको र त्यसपछि राजश्व अनुसन्धान कार्यालयमा बुझाइने सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए ।