कर्णाली प्रदेश अधिवेशन : मतगणनास्थलमा तोडफोड र नाराबाजी

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणनास्थलमा तोडफोड र नाराबाजी भएको छ ।

जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड र नाराबाजी गरेका हुन् । तोडफोडबाट सुर्खेत सिटी हल प्रवेशद्वारका सिसा फुटेका छन् ।

मतगणनास्थल प्रवेशका विषयमा अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सत्य शाही र प्रहरीबीच विवाद भएको थियो । विवादपछि प्रहरीले शाहीलाई पक्राउ गरेपछि अनेरास्ववियुका कार्यकर्ताले तोडफोड र नारावाजी गरेका हुन् ।

शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीको आन्तरिक चुनावमा आफ्नै कार्यकर्ताहरूबाट असुरक्षित हुने भए सिटी हल बाहिरको मैदान खाली गरिदिने चेतावती दिएपछि अहिले विवाद साम्य भएको जनाइएको छ ।

एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनअन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा प्रहरीको उपस्थिति बढाइएको छ ।