‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

काठमाडौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए ।

चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग रेकी छन् ।

उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन ।

ढकालको खुकुरी प्रहारबाट २९ असार, २०७२ मा नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो । घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।