भ्रष्टाचार आरोपमा पूर्वउपाध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका वडा नं २ मा एक आयोजना निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वगाउँपालिका उपाध्यक्ष रिता घर्ती, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सो आयोजना निर्माणका लागि बनेको उपभोक्ता समितिका पदाधिकारीसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले दिएको जानकारी अनुसार गंगादेव गाउँपालिका वडा नं २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चार लाख छैसट्ठी हजार चार सय अठासी रुपैयाँ भ्रष्टाचार गरेको भेटिएको हो ।

सो योजनाको लागि आव २०७६/०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबीच सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरी गराई सोही वमोजिमको झुट्टा बिल भरपाई तयार गरिएको आयोगले जनाएको छ ।

अनावश्यक विल भरपाई बनाइ गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्ने रकम चार लाख छैसट्ठी हजार चार सय अठासी रुपैयाँ पैसा अन्ठानब्बे भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पुर्याईउने बद्‌नियतले उपभोक्ता समितिलाई भुक्तानी दिने र लिने कार्य गरेगराएको पुष्टि भएको हुँदा उल्लेखित भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरु उनीहरुविरुद्ध बिशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जनाएका छन् ।

यो मुद्दामा तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई र वडा सदस्य टिका विक, वडा नं २ का तत्कालीन वडा सदस्य गन बहादुर भण्डारी, वडासचिव कुलबहादुर योगी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव र योजना अधिकृत (सहायक पाँचौ) कृष्णबहादुर घर्ती,तत्कालीन इन्जिनियर नविन डाँगी, सवइन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाई टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगीलाई दोषी चार लाख छैसट्ठी हजार चार सय अठासी रुपैयाँ विगो माग गर्दै कारबाही माग गरिएको हो ।