काठमाडौं महानगरभित्र चल्ने सवारी साधनले धुँवाको मुस्लो फाले ३ लाख जरिवाना तिराउने

काठमाडौं । काठमाडौं महानगरपलिकाले धुँवाको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ । धुँवाको मुस्लो फाल्ने सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गदै आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदुषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ उपदफा (४) मा व्यवस्था भए अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैंयासम्म जरिवाना गरिने उल्लेख गरेको छ ।

साथै दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न समय दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुँवाजन्य प्रदुषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरुमा संचालन भइरहेका सवारी साधनहरुको धुँवा निष्काशनको अत्यन्त दयनीय अवस्था समेत देखिन आएको विषयमा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानार्षण भएको महानगरपालिकाले जनाएको छ ।

सर्वसाधारणले काठमाडौं महानगरपालिका क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभावी धुँवाजन्य प्रदुषण उत्सर्जन भएका सवारी साधनहरुको बारेमा प्रमाण सहितको सूचना काठमाडौं महानगरपालिकालाई जानकारी गराउन अनुरोध समेत गरेको छ ।