झलनाथ प्रतिष्ठानको सर्प पालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित सात जनाविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मन्त्री कुमारसहित सर्लाहीकाे लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेकाे हाे ।

यसैगरी तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचार गरेकाे अभियाेगमा मुद्दा दर्ता गरेकाे अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।