इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन भएका छन् : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री साउदले १२ नेपाली सम्पर्कविहीन भएको बताएका हुन्।

उनले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’

साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन्। २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए।