प्रिमियर लिग : आठ वर्षपछि आर्सनलले सिटीलाई हरायो

काठमाडौं । गत सिजन ‘ट्रेबल’ जितेको म्यानचेस्टर सिटीमाथि आर्सनलले इंग्लिस प्रिमियर लिगमा आठ वर्षपछि विजय हासिल गरेको छ ।

साविक विजेता सिटी आइतबार आर्सनलसँग १–० ले स्तब्ध बन्यो । आर्सनलले सन् २०१५ डिसेम्बरपछि प्रिमियर लिगमा सिटीलाई हराएको हो ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले गरेको गोल निर्णायक बन्यो । मार्टिनेलीले खेल सकिन चार मिनेटअघि गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए ।

घरेलु मैदान इमिरेट्समा जित निकालेको आर्सनल आठ खेलबाट २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान अंक भए पनि टोटनहम गोलअन्तरले शीर्ष स्थानमा छ । १८ अंकको सिटी तेस्रो स्थानमा छ ।

आइतबार नै भएका अरू खेलमा लिभरपुल र ब्राइटनले २–२ को बराबरी खेल्दै अंक बाडे ।

क्रिस्टल प्यालेसले नटिंघम फरेस्टसँग गोलरहित, उल्भ्सले एस्टन भिल्लासँग १–१ र वेस्ट हमले न्युक्यासल युनाइटेडसँग २–२ को बराबरीमा खेल्दै अंक बाँडे ।